विकास साझेदारी

प्रारम्भदेखि नै महिला तथा बालबालिका विभागलाई द्विपक्षीय औ बहुपक्षीय विकास निकायको मद्दत मिलिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, एशियाली विकास बैङ्क, जापानी अन्तर्राष्ट्रिय सहयोग निकाय, संयुक्त राष्ट्रसङ्घीय महिला र हालसालै बेलायती अन्तर्राष्ट्रिय विकास विभाग अनि बालबचाउ थाहा भइरहकै नाम हुन् । विगतमा कृषि विकासका लागि  अन्तर्राष्ट्रिय कोष‚ अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य अमेरिकी निकाय, नेदरल्याण्डको विकास सङ्गठन, अन्तर्राष्ट्रिय श्रम कार्यालय, नर्बेली विकास निकाय, संयुक्त राष्ट्रसङ्घीय महिला दशकका लागि ऐच्छिक कोष, एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग र खाद्य तथा कृषि सङ्गठन पनि त्यत्तिकै सहयोगी थिए । महिला विकास अधिकृतसँगै कार्यक्षेत्रमा पुगेका नेदरल्याण्डको विकास सङ्गठन, संयुक्त राज्य अमेरिकी शान्ति समूह र बेलायती समुन्द्रपार स्वयंसेवक सेवाका तर्फबाट पठाइएका विकास सहकर्मीहरू पर्दाका साथी नै थिए । जापानी अन्तर्राष्ट्रिय सहयोग निकाय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकायले त विभागलाई स्वयंसेवाका रूपमा अद्यापि टेवा पु¥याइरहेकै छन् । यस किसिमले महिला विकास कार्यक्रमलाई थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अंशियारहरूको संयुक्त उद्यम मान्न सकिन्छ । आयोजनाका अर्थमा भने हाल बेलायली अन्तर्राष्ट्रिय विकास विभाग, संयुक्त राष्ट्रसङ्घीय बालकोष र संयुक्त  राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसमेतका तीनोटा निकायसँग विभागीय सहकार्य छ ।

बेलायती अन्तर्राष्ट्रिय विकास विभाग लैङ्गिक हिंसा निवारणका लागि महिला संस्थाहरूको एकीकृत विकास कार्यक्रम (६ जनवरी २०१५ ३१ डिसेम्बर २०१८ इ.)
सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रमको अंशको रूपमा समुदायमा आधारित अग्रसरताहरूलाई प्रोत्साहन दिनुका साथै न्यायमा पहुँचका सेवाहरू सुदृढ तुल्याएर महिला तथा बालबालिकाउपर हुने हिंसा घटाउने गरी यो ५५ लाख पाउण्डको आयोजनाको रचना भएको हो । सघन हस्तक्षेपका अर्थमा आयोजनाअन्तर्गत ३५ जिल्ला ढाकिएका छन् । आयोजना सन् २०१२ को जुलाई २७ तारिखमा महिला अर्धकानुनी समिति कार्यक्रमलाई महिला विकास कार्यक्रममा एकीकृत गर्ने गरी पारगमन योजनामा सहमति भएसँगै प्रारम्भ भएको विभाग र बेलायती अन्तर्राष्ट्रिय विकास विभागबीचको सहकार्यको नयाँ चरणको रूपमा छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष देशगत कार्यक्रम
देशगत कार्यक्रम कार्ययोजनाको खाकाभित्र कोषले विभागका बालसंरक्षण एवं किशोरी विकास क्रियाकलापहरूलाई सघाएको छ । आव २०७२।७३ मा कोषको सहायता रु. तीन करोडजति पुग्दछ, जुन २०७२ वैशाखको भैँचालोबाट अतिप्रभावित १४ समेत २० जिल्लामा क्रियाकलापहरू सञ्चालन गर्न उपयोग भइरहेको छ । सहयोगको अर्को महत्वपूर्ण पक्ष कर्मचारी विकास पनि हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष देशगत कार्यक्रम
विभाग र कोषबीचको सहयोग पनि देशगत विकास सहायता खाकामा आधारित छ । प्रजनन स्वास्थ्य, लैङ्गिक हिंसाको रोकथाम, किशोरी सशक्तीकरण साझा प्राथमिकता हुन् । कर्मचारी विकास अर्को दृष्टि—बिन्दु हो । कोषको सहयोगप्राप्त गतिविधि १८ जिल्लामा विस्तारित छन् । बजेटका हिसाबमा आव २०७२।७३ मा कोषको योगदान रु. ५६ लाख हुन्छ । त्यसमा जिल्ला विकास कोषमार्फत जिल्लामा प्रवाहित हुने वित्त भने परेको छैन ।

सामाजिक अपेक्षातुल्य कार्यको प्रयासमा विभागले विकास सहयोगलाई बढवा दिन चाहेको छ । वर्तमान केही प्राथमिकता देहायमा छन् :

  • कार्यक्रम खर्चतर्फ हाल देखिएको पुगनपुग रु. ५० करोडको स्रोत न्यूनताको परिपूर्ति;
  • विशेषतः निम्न पक्षमा विभागीय कर्मचारीको पेसागत विज्ञत्व विकास :
    • महिला संस्थाहरूको परिवर्तित आवश्यकताअनुसार सहभागितामूलक समस्या समाधानमा सहजीकरण;
    • सूचनापूर्ण सामाजिक परिचालनका लागि कार्यमूलक अनुसन्धान र
    • नवोदित मुद्दाहरूको पहिचान एवं तिनको सम्बोधन पहलका खातिर अधिवाचन;
  • अर्थोपार्जन हुने व्यवसाय बढाएर त्यसबाट अर्थोपार्जन नहुने सामाजिक सेवाहरू जारी राख्न समर्थ तुल्याउने गरी महिला संस्थाहरूको संवर्धन;
  • किशोरी विकास, पुरुष संलग्नताजस्ता कार्यक्रममा रणनीतिक सम्भागहरूको सदृढीकरण र
  • आफ्नै ज्ञानाधार सृजना गर्नुका साथै व्यावहारिक समस्याको समाधानमा अन्यत्रको ज्ञानको उपयोग ।