प्रगतिका मापक

महिला तथा बालबालिका विभाग सधैँभरि सशक्तीकरणकै खोजीमा हुन्छ । सशक्तीकरणको न्यूनतम स्तर विषयगत अर्थमा परिभाषित गरिएको छ भने वस्तुगत मापक एवं मानदण्ड बनाउने जिम्मा मूल्याङ्कनकर्तालाई नै छोडिएको छ । मूल्याङ्कन अध्ययन प्रत्येक पाँच वर्षको घटीबढीमा गरिन्छ ।

बीचैमा पनि प्रगति थाहा पाइयोस् भनेर सशक्तीकरणको निकटवर्तीझैँ नापो बनाइएको छ । अभिप्राप्ति सूचकाङ्क भनिने यो मापक सातोटा परिमाणात्मक सूचकहरूको समष्टि हो, जसमा सञ्चिति, स्वामित्व, सदस्यतर्फी नगदप्रवाह, स्रोत परिचालन, सामेली, नवपुस्ताको सम्मिलन र पक्कै पनि सहभागिता पर्दछन् ।

शून्यदेखि सयसम्मको मानदण्डमा यो सूचकाङ्कले कार्यक्रमिक हस्तक्षेपको कार्यकारण जनाउँदछ । मानदण्डमा ७५ वा माथिको अङ्कले लक्षित समूहको कम्तीमा परिभाषित तहसम्मको सशक्तीकरणमा गतिलै प्रगति भएको छ भन्ने दर्साउँदछ भने ३० वा तलको अङ्क हुँदा प्रगति स्वल्प भएको वा नभएको खुल्दछ । विभागबाट प्रवर्धित धेरै सक्रिय महिला सहकारी संस्थाहरू हाल ६० को अभिप्राप्ति सङ्घारभन्दा केही माथिल्तिर चल्दैछन् । समाविष्ट सूचकहरूमा जोडयोग्यताको गुण भएका कारण यो मापक रेखाङ्कन र अरू कैयन् प्रयोजनमा पनि उपयोग गर्न सकिन्छ ।

सहजकर्ताहरूले कार्यस्थलमा व्यापक रूपमा प्रयोग गर्ने गरेको अर्को हालसालैको मापक अभिकार्य सूचकाङ्क हो । सक्रियता, सरोकार, सम्पर्क, सिकोसिक्लाइ गरी पाँचोटा सूचकहरू मिलेर यो व्यक्तिगत वा सामूहिक अग्रसरताको गुणात्मक मानदण्ड बनेको छ । नापोका मानहरू ५ देखि २५ सम्म छन् ।

सशक्तीकरणको प्रक्रियामा सरिक महिला ११ वा घटी अङ्क प्राप्त गर्दासम्म 'उपचारार्थी' रहन्छिन् । 'अभिकर्ता' कहलाउन उनले १९ वा बढी अङ्क हासिल गर्नुपर्ने हुन्छ । बीचमा १२ देखि १८ अङ्क पाउनेलाई 'सहभागी' जनाइन्छ । समूह वा सहकारी संस्थाको अभिकार्य अङ्क पनि तदनुसार नै गणना अनि मनन गर्न सकिन्छ ।

धेरै अर्थमा अभिप्राप्ति र अभिकार्य सूचकाङ्कहरू उस्तै देखिन्छन् । तैपनि दुइटाका बीचमा भिन्नता छन् । सम्भवतः सबभन्दा महत्वपूर्ण भिन्नता त अभिप्राप्ति सूचकाङ्कले सफलता प्रमाणित गर्दछ भने अभिकार्य सूचकाङ्कले सफलता प्रक्षेपण गर्दछ भन्ने नै होला ।