रणनीति

लाखौँ ग्रामीण महिलाहरूको एक साथ सशक्तीकरण गर्ने चुनौतीका सामुन्नेमा महिला तथा बालबालिका विभागले आफ्नै बाटो समातेर क्रियाकलापको वर्तमान तहसम्म आइपुगेको छ । विभागका १७ मध्येका धेरै रणनीति ‘आफै गर’ भन्ने खालका छन् । सशक्तीकरणलाई सघाउने र बाधा नपार्ने अभिप्राय भएका ती रणनीति प्रायः मूलप्रवाहीकरणसशक्तीकरणसमावेशीकरण गरी तीनवटा शीर्षकअन्तर्गत राख्ने चलन छ ।

मूलप्रवाहीकरण

  • फराकिलो कार्यसञ्जाल
    लैङ्गिक समानता एवं बालअधिकारको सुनिश्चितताका लागि सरकारी, गैर—सरकारी एवं निजी क्षेत्रका सबै सरोकारवालामाझ सञ्जाल बनाएर सहकार्य गरिनेछ ।
  • स्थानीय निकायको नेतृत्व
    समन्वय समितिको अध्यक्षतालगायत लैङ्गिक तथा बालअधिकारको विकेन्द्रित मूलप्रवाहीकरणका समस्त प्रक्रियामा स्थानीय निर्वाचित निकायकै नेतृत्व रहने गरी सहजीकरण गरिनेछ ।
  • सञ्जाल सदस्यको स्वामित्व
    लैङ्गिक तथा बालअधिकारका मुद्दाहरूलाई पहिल्याउने एवं सम्बोधन गर्ने सिलसिलामा सहभागितात्मक लेखाजोखा विधि अवलम्बन गर्नुका साथै अग्रसरताको स्वामित्व सम्बन्धित सञ्जाल सदस्यमै रहने गरी साझेदारी गरिनेछ ।
  • क्षेत्रगत प्रभावको प्रक्षेपण
    क्षेत्रगत उद्देश्यको परिप्राप्तिमा लैङ्गिक मूलप्रवाहीकरणको प्रभाव प्रक्षेपण हुने गरी अधिवाचन गरिनेछ ।
  • कार्यक्षेत्रको सीमाङ्कन
    सञ्जाल सदस्यको कार्यक्षेत्रमा प्रवेश नगरी मूलप्रवाहीकरणमा समन्वय गरिनेछ तथा बालअधिकारको क्षेत्रमा केन्द्रीय वा जिल्ला बालकल्याण समितिबाट सम्पादन हुने कार्यहरूका हकमा दोहोरो नपर्ने गरी सहयोगी भूमिका निभाइनेछ ।

सशक्तीकरण

  • महिलामात्रको समूहीकरण
    विपन्न महिलालाई मौजुदा लैङ्गिक छेकबार पन्छाउन, सशक्तीकरणको प्रक्रियामा सरिक हुन र पछिसम्म आफ्ना हितका पक्षमा स्वविवेकमा निर्णय गरी सिक्दै जान सुबिस्ता होस् भनी महिलामात्रको समूह बनाइनेछ ।
  • सहकारी माध्यमको अवलम्बन
    स्वावलम्बन र पारस्परिकताको भावनाले समूह सदस्यको उत्तरोत्तर उन्नतिका लागि सर्वमान्य सहकारी सिद्धान्तअनुसार संस्थागतीकरण गरिनेछ, जसअन्तर्गत छिमेकका समूहलाई क्रमशः वडा अनि गाउँपालिकाको स्तरमा सङ्घीकरण गरेर वडास्तरमा सम्पूर्ण समूह सदस्यको नियमित बैठक बस्ने गरी सहभागिताको मञ्च बनाइनेछ ।
  • पुरुषजनको सहभागिता
    सल्लाहकार समितिमा प्राथमिकता दिनुका साथै लैङ्गिक प्रशिक्षणलगायतका विभिन्न क्रियाकलापमा समूह सदस्य परिवारका पुरुष सहकर्मी एवं समुदायका अरू पुरुष शुभचिन्तकहरूको सहभागिता सुनिश्चित गरिनेछ ।
  • लक्षित महिलाको अग्रसरता
    सशक्तीकरणको प्रयोजनार्थ लक्षित महिलालाई नै कार्यकर्ताको हैसियतमा अघि सार्नुका साथै आवश्यकतामा आधारित छनौटलाई प्रभावित नपार्ने गरी सहायता प्रदान गरिनेछ ।
  • स्वतन्त्र स्रोतको परिचालन
    विपन्न महिलाको सृजनशीलता प्रोत्साहित गरिराख्न स्वतन्त्र स्रोत खोजिनेछ, जसअनुसार ऋण, बचत वा वित्तीय दबाब बढी भएका अन्य स्रोतभन्दा अंशधन (Share capital), बीउपुँजी वा वित्तीय दबाब घटी भएका अन्य स्रोतलाई प्राथमिकता दिइनेछ ।
  • विद्यालयविमुख किशोरीको सम्मिलन
    जोखिममा रहेका विद्यालयविमुख किशोरीलाई भावी समूह सदस्यको रूपमा हेरी महिला समूहसँग गाँसेर किशोरी वृत्त बनाइनेछ ।
  • विपन्नतामै व्यावसायिक समूह
    स्वरोजगारीलाई विपन्नताको निकास मानी विपन्न महिलामा केन्द्रित भएर व्यावसायिक समूह विकास गरिनेछ ।
  • सामुदायिक सम्बन्धन विस्तार
    प्राकृतिक स्रोतको जगेर्ना, ऐतिहासिक सम्पदाको संरक्षण, साना पूर्वाधार सृजनाजस्ता रचनात्मक अग्रसरता लिनुका साथै सामुदायिक स्रोतको उपयोग, लैङ्गिक मुद्दामा बहस, सार्वजनिक लेखापरीक्षणलगायतका गतिविधिबाट महिला सशक्तीकरणमा सामुदायिक अंशियारी बढाइनेछ ।
  • समायोजित सामाजिक परिचालन
    निर्धारित सूचकाङ्कका आधारमा लक्षित समूहको संस्थागत विकासको स्तरअनुसार सामाजिक परिचालनमा संलग्नता समायोजन गरिनेछ ।

समावेशीकरण

  • पहुँचमा प्राथमिकता
    आर्थिकका साथै सामाजिक पक्षलाई हेरी लक्षित महिलाको विपन्नताको तहअनुसार प्रदत्त सेवा, टेवामा प्राथमिकताको क्रम कायम गरिनेछ ।
  • समूहीकरणमा अभिन्नता
    एकल, अपाङ्गता भएका, दलित समुदायका महिलालगायत वञ्चितीकरणमा परेका महिलाको छुट्टै समूहीकरण नगरेर मूलधारमै सम्मिलित गरी सामाजिक पुँजी बढाइनेछ ।
  • पोकाबन्दीमा पृथक्ता
    सामाजिक परिचालनको नियमित प्रक्रियामा पहुँच स्थापना गर्न नसकिरहेका खास अवस्थाका बहुविपन्न महिलाका लागि ससर्त नगद हस्तान्तरण (Conditional cash transfer) को मान्यतामा सम्बोधक क्रियाकलापहरू छुट्टै पोकाबन्दी गरिनेछन् ।