लक्षित समूह

महिला तथा बालबालिका विभागका कार्यकलाप ग्रामीण क्षेत्रका २० वर्षमाथिका देहायको कुनै एक वा दुवै रूपमा विपन्न महिलामा केन्द्रित रहन्छन् :

  • कहिल्यै विद्यालय नगएका वा गए तापनि प्रवेशिका परीक्षासम्म उत्तीर्ण गर्न नसकेका शैक्षिक रूपमा वञ्चित र
  • आफ्नो जग्गा वा आम्दानीको नियमित स्रोतबाट वर्ष दिन खान नपुग्ने परिवारका आर्थिक रूपमा वञ्चित ।

राष्ट्रिय जनगणना, २०६८ बाट प्राप्त तथ्याङ्कका आधारमा विभागीय कार्यक्रम पुग्नुपर्ने महिलाको सङ्ख्या ५१ लाख ९६ हजार हुन्छ । त्यसो त, यो मोटामोटी अनुमान हो । खास सङ्ख्या निकाल्न देहायबमोजिम घटाउनुपर्ने हुन्छ :

  • अर्काको उपज वा श्रममा आधारित व्यवसाय भएका र त्यसकारण सहकारी कार्यका प्रक्रियामा साँच्चिकै सहभागी हुन सक्तछन् भनेर अपेक्षा गर्न नसकिने महिलाहरू;
  • समुदायका अरूहरूकोसँग बाझिने व्यक्तिगत महत्वकांक्षा भएका महिलाहरू र
  • आफ्नो स्वतन्त्र रोजाइले विभागको कार्यक्रममा सहभागी हुन नचाहने महिलाहरू ।

ठीक अङ्कमा पुग्न मुस्किल छ भन्ने त सहजै अनुमान हुन्छ । सम्भवतः २० प्रतिशतको व्यवस्था अवास्तविक हुनेछैन । यसरी लक्षित समूहको खास आकार ४१ लाख ५७ हजारको हाराहारीमा झर्दछ ।