महिला विकास कार्यक्रम

अनभिज्ञ, विपन्न, विभेदित — ग्रामीण नेपालका लाखौँ महिला भातभान्छा, सुसार र खेतीपातीको अनन्त दिनचर्याभन्दा पर जीवनको अर्थ खोजिरहेका प्रतीत हुन्छन् । महिला तथा बालबालिका विभागको महिला विकास कार्यक्रम उनीहरूलाई परिवर्तनका अभिकर्ताको रूपमा आफै पुन:आविष्कृत हुन सघाउने खालको हो । आम धारणाविपरीत लघु वित्तको कार्यक्रम यो होइन । प्राकृतिक स्रोतको जगेर्नापट्टि यसको खासै लेनादेना छैन । गरिबी—केन्द्रित हस्तक्षेप पनि यसलाई मान्न मिल्दैन ।

यो त पूर्णतया अघि विकासका नियमित अवसर गुमाएकाहरूको अहिले विकास गर्ने कार्यक्रम हो ।

हो, जसै महिलाहरू सशक्त हुन्छन् घरायसी गतिशीलता फेरिन्छ, संरक्षणका मूल्यहरूको पुनरुत्थान हुन्छ र सम्पन्नताले गरिबीलाई पाखा लगाउँदछ । अरू थुप्रै परिलाभहरू पनि मिल्दछन् । कार्यक्रमको प्रत्यक्ष उद्देश्य भने महिलाको सशक्तीकरण नै हो ।

अघि २०३८ सालमा महिला विकास शाखा खडा भएपछि कार्यक्रम पनि त्यही नै नामले चलाइयो । उप्रान्त महिला विकास कार्यक्रम ध्वजाजस्तै भएको छ, जसअन्तर्गत विभागका समस्त गतिविधिहरू सञ्चालन गरिन्छन् । ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम नामक लामै चलेको आयोजनाअन्तर्गतको क्रियाकलाप स्तरको कारणले पनि होला प्रारम्भमा त्यसै आयोजनाको नामबाट पनि यो कार्यक्रम चिनिन्थ्यो ।

झन्डै साढे तीन दशकपछि कार्यक्रम देशव्यापी भएको छ । कार्यक्रममा १० लाख बढी महिला प्रत्यक्षतः सहभागी छन् । सबभन्दा मुस्किलले पुगिने समूहसम्म पुग्न सकेको भनेर कार्यक्रम कहलिएको छ । हस्तक्षेपको ढाँचासशक्तीकरण पहुँच कार्यक्रमका त्यत्तिकै उल्लेखनीय पक्ष हुन् । साङ्गठनिक सिकाइको प्रकाशमा कार्यक्रमको रचनामा सालबसाली परिवर्धन पनि गर्ने गरिन्छ ।